Kath Khabar
प्रतिवेदन नबुझाएसँगै ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं, साउन १९ । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयमै नबुझाउने राजनीतिक दलहरुलाई भोलि(साउन २०) गतेदेखि लागू हुने गरी दर्ता खारेज गरेको हो । 

आयोगले खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिन्ह दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

आयोगको निर्णयसँगै अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ । यसअघि आयोगमा १३६ वटा दल दर्ता रहेका थिए ।

‘यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा १३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खारेजीमा पर्नेमा राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी, राष्ट्रिय जनएकता, हाम्रो पार्टी, नेपाल नागरिक, नागरिक समाजवादी, दलित मुस्लिम जनशक्ति, जनता, आजाद जनता पार्टी गरी ४१ वटा रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update