काठमाडौं, असार ६ । लामो समयदेखि सञ्चालनको प्रतिक्षामा रहेको ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर आजदेखि सञ्चालनका आउने भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे फ्लाइओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै लेन सेपरेटर राख्ने, सडक लाइनिङ गर्ने लगायतका अन्तिम तयारीहरू सकिएपछि सवारी सञ्चालन योग्य अवस्थामा पुगेको हो ।
२०७८ फागुन १२ मा ठेक्का लागेको फ्लाइओभरको म्यादभित्र निर्माण कार्य नसकिएपछि हर्जाना तिराइँदै निर्माण कार्य भएको थियो ।
फ्लाइओभरको अनुमानित लागत ३१ करोड ४६ लाख भनिएपनि १७ करोड ७ लाख लागत रहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिए । फ्लाईओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थवाल (एमएससी वाल) प्रविधिमा आधारित रहेर निर्माण गरिएको जनाए ।
फ्लाईओभरको निर्माण अवधि दुई वर्ष भनिएता पनि विभिन्न कारणवश र करिब तीन बर्ष चार महिना अवधिमा निर्माण सम्पन्न भएको हो । ५ सय मिटर लामो अप्रोच सडक बनेको फ्लाइओभरमा ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ ।
ग्वार्को क्षेत्रको सवारी जाम न्यूनीकरण गर्न निर्माण गरिएको यो फ्लाइओभरले यातायात सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अब चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र मंगलबजार र इमाडोलबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् ।