
काठमाडौं, असार ६ । ललितपुरको ग्वार्कोमा निर्माण गरिएको ओभरपासको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा संरचनाको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन गरिएसँगै अब ओभरपास सर्वसाधारणका लागि खुला गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए ।
२०७८ फागुन १२ मा ठेक्का लागेको फ्लाइओभरको म्यादभित्र निर्माण कार्य नसकिएपछि हर्जाना तिराइँदै निर्माण कार्य भएको थियो । फ्लाइओभरको अनुमानित लागत ३१ करोड ४६ लाख भनिएपनि १७ करोड ७ लाख लागत रहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिए । फ्लाईओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थवाल (एमएससी वाल) प्रविधिमा आधारित रहेर निर्माण गरिएको जनाए ।
फ्लाईओभरको निर्माण अवधि दुई वर्ष भनिएता पनि विभिन्न कारणवश र करिब तीन बर्ष चार महिना अवधिमा निर्माण सम्पन्न भएको हो । ५ सय मिटर लामो अप्रोच सडक बनेको फ्लाइओभरमा ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ ।
ग्वार्को क्षेत्रको सवारी जाम न्यूनीकरण गर्न निर्माण गरिएको यो फ्लाइओभरले यातायात सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । अब चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र मंगलबजार र इमाडोलबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् ।