
काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सभाका पदमुक्त ३ जना सांसदहरुको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सांसद पुनर्बहालीको मागसहित शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पदमुक्त भएका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिनु भएको थिए । तर ,सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार सांसद पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ भने अन्तरिम आदेशका लागि छलफल गर्न भदौ ८ गते दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनु भएको छ ।
पार्टीले निष्कासन गरेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध उहाँहरु सर्वोच्च जानु भएको हो । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले उनीहरुलाई कारबाही गरेको थियो । यसअघि पनि जनता समाजवादी पार्टीले उहाँहरुलाई निष्कासन गरे पनि सर्वोच्च अदालतले तत्काल सांसद पदबाट नहटाउन अन्तरिम आदेश दिएपछि उहाँहरुको सांसद पद कायम रहेको थियो ।