Kath Khabar
बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ जना घाइते

                                       बाजुरा, साउन ८ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका-५ स्थित कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे भने एकजनाको उद्दारका क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा १६ जना घाइते भएका छन् । 

बा प्र ०३–००१ जा ०३३८ नम्बरको जीप क्युडी गाउँबाट वडा नम्बर ५ को कार्यालय जाँदै गर्दा टुनिगाडामा दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा हिमाली नगरपालिका–५ क्युडीका ७६ वर्षीय बिजा रोकाया र ७५ वर्षीय बाचा रोकाया र ३५ वर्षीया जुनेली रोकायाको रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार जीपमा सामाजिक सुरक्षा भत्ता कागजात नवीकरण गर्न आउँदै गरेका १९ जना यात्रुहरू थिए । क्षमताभन्दा बढी यात्रु बोकेको जीप कच्ची बाटोमा नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ। 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update