धनगढी, साउन १३ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा मंगलबार दिउँसो दुई मन्त्री चढेका गाडी आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
भौतिक पूर्वाधार मन्त्रीका चालकले चलाएको मन्त्रालयको से. १ झ ३३० नम्बरको कालो गाडी बाटोमा उभिएका व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएपछि त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको कानुन मन्त्रालयको बा २ झ १४१९ नम्बरको रातो गाडी ठोक्किएको हो ।
चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम थियो । दुर्घटनामा गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।