Kath Khabar
उपत्यकाको निषेधाज्ञा थप कडाई

काठमाडौं, साउन २६ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ। 

उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय लिनु भएको छ।

‘उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै निषेधाज्ञामा केही कडाइ गर्ने निर्णय लिएका छौँ’, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले भन्नुभयो, 'भदौ ८ गतेसम्मका लागि राति ८ बजेदेखि सार्वजनिक तथा निजी गाडी चलाउन निषेध गर्ने निर्णय लिएका हौँ।’

बैठकले कोरोनाको जोखिम झन् बढ्दै गएकाले यस्तो कदम चाल्न परेको बताइएको छ । यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै सार्वजनिक यातायातमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने व्यवस्था गरेको छ। 

सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउन प्रशासनले निर्देशन दिएको छ । सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र दैनिक रुपमा सवारी साधन सेनिटाइज गर्नुपर्ने छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update