Kath Khabar
नवनियुक्त चार मन्त्रीहरूको शपथ आज ३ बजे हुँदै

                  काठमाडौं, असोज ६ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने थप मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ ।  सपथ ग्रहण कार्यक्रम ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । 

मनोनित हुनेहरूमा पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन, सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिल कुमार सिन्हा र समता फाउन्डेसनका अध्यक्ष डा. मदन परियार रहेका छन् । उनीहरूको नियुक्तिसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय हुनेछ। 

खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रूपमा प्रस्ताव गरिएको छ भने पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गर्ने तय भएको छ । सिन्हालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र डा. परियारलाई कृषि तथा पशुधन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसअघि आइतबार प्रधानमन्त्री कार्कीले जनस्वास्थ्य विज्ञ डा. संगीता मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा सिफारिस गरेकी थिइन्, तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएका मिश्राको नागरिकतामा विवाद र भ्रष्टाचार सम्बन्धी मुद्दामा मुछिएको भन्दै विरोध भएपछि अहिले उनको नाम हाेल्डमा राखिएको बताइएकाे छ । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update