Kath Khabar
रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिनुभयो राजीनामा

काठमाडौंं, साउन २७ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भटराईले पदबाट राजीनामा दिनु भएको छ । उहाँले राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप आफू वर्खास्त हुनु परेको बताउनु भएको छ । बुधबारबाट लागु हुने गरी आफुले पदबाट राजीनामा दिएको उहाँले सार्वजनिक गर्नुभएको राजीनामा पत्रमा उल्लेख छ ।

पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको प्रदत्त मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पश गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको पत्रमा भनिएको छ ।

‘रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्ने गरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, पूर्ववर्ति सरकारले नियुक्त गरेका सवै नियुक्तिहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीति अनुरुप वर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेश गर्न भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि मापदण्ड २०७७ को दफा ९ को खण्ड घ मा व्यवस्था नै नभएको विषयमा आरोप लगाई स्पष्टिकरणको नाटक मञ्चन गरिएको हुँदा देश र जनता प्रति गैर जिम्मेवार, प्रतिशोधपूर्ण, अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध बिभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु,’ भट्टराईले राजीनामा पत्रमा लेख्नु भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईले महाप्रबन्धक पदमा नियुक्त गरेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update