
काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरूले तत्काल महाधिवेशन गर्न नसकिने बताउनु भएको छ । सभापति देउवा निकट जिल्ला सभापतिको बिहीबार बसेको बैठकले आन्तरिक प्राविधिक कारणले तत्काल महाधिवेशन सम्भव नभएको बताउनु भएको छ । उहाँहरुले नेतृत्वलाई आठ बुँदे सुझाव दिँदै अहिले तत्कालै महाधिवेशन गर्न सम्भव नभएको निष्कर्ष निकालेका छन् ।
“हामी महाधिवेशनको पूर्वसन्ध्यामा छौँ । महाधिवेशन समय मै र विधिसम्मत हुनुपर्नेमा कसैको विमति छैन । तर पनि कोरोनाको महामारी, सबैमा खोप नपुगेको अवस्था र केही आन्तरिक प्राविधिक कारणले महाधिवेशन समयमै नहुने हो कि भन्ने शंका बढ्नु स्वाभाविकै छ । हामी आजको केन्द्रीय समितिको बैठक सहमति, लोकतान्त्रिक विधि, कानुन र संविधानसँग नबाझिने गरी महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रित होस् भन्ने अनुरोध गर्न चाहन्छौ,” निर्णयमा भनिएको छ ।
त्यसैगरी अरु पार्टीबाट कांग्रेसमा आएका सदस्यहरुको समायोजनका सम्बन्धमा फेरि फाइल खोल्नुपर्छ भन्ने बखेडा झिक्नु महाधिवेशन हुन नदिने बहाना मात्रै भएको बताउनु भएको छ। “अरु पार्टीबाट नेपाली कांग्रेसमा आएका सदस्यहरुको समायोजनका सम्बन्धमा वडादेखि सबै तहबाट स्वीकृत भई आएको र काम सकिएको फाइल फेरि खोल्नुपर्छ भनी बखेडा झिक्नु महाधिवेशन हुन नदिने बहानामात्रै हो । यसलाई नउचाल्न हामी सबैमा अनुरोध गर्न चाहन्छौ,” उहाँहरुले भन्नु भएको छ ।
त्यस्तै, कांग्रेसका सभापति शेरबहादुर देउवा निकट सभापतिहरूले इतर पक्ष महाधिवेशन भाँड्न लागेको निष्कर्ष समेत निकाल्नु भएको छ । संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले इतर पक्षीय जिल्ला सभापतिको बैठकप्रति आपत्ति जनाउँदै यस्तो निष्कर्ष निकाल्नु भएको हो ।
सोमबार र मंगलबार काठमाडौंमा इतर पक्षीय जिल्ला सभापतिहरूले भेला गर्नुभएको थियो । त्यसको काउन्टरमा काठमाडौंमा उपस्थिति संस्थापन पक्षीय २६ जना जिल्ला सभापतिको बैठक बसेको बताइएको छ ।