Kath Khabar
अफगानिस्तानका नेपालीको उद्धार प्रबन्ध मिलाउन आवश्यक निर्देशन दिएको छुः प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार र समन्वयको जिम्मेवारीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ । त्यहाँ रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धारको प्रबन्ध मिलाउन आफूले आइतबार नै निर्देशन दिइसकेको उहाँले जनाउनु भएको छ ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु, उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नु भएको छ,‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

अमेरिकी सेना फिर्तीको घोषणासँगै आक्रमण तीव्र पारेको विद्रोही तालिबान समूहले राजधानी काबुलसहित अफगानिस्तानमा पूरै पकड जमाइसकेको छ । राजधानी काबुल तालिबानले नियन्त्रणमा लिए पछि राष्ट्रपति असरफ घानीले मुलुक छाडिसक्नु भएको छ।

अमेरिका, बेलायतलगायत मुलुकले अफगानिस्तानमा रहेका आफना कर्मचारी तथा नागरिक फर्काउन थालिसकेका छन् । अमेरिका, बेलायतले भने काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारलाई पनि फर्काउन थालेका छन् ।

 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update