Kath Khabar
अफगानिस्तानलाई लिएर सरोकारवाला मुलुकहरुसँग वार्ता गर: पूर्व राजदूतहरु

काठमाडौं, भदौं ८ । अफगानिस्तानको राजनीतिक परिस्थितिका कारण क्षेत्रीय अस्थिरता आउनसक्ने भन्दै पूर्व राजदूतहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतमा सरोकारवाला मलुकहरूसँग संवाद अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ । पाँच पूर्वराजदूतहरू हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्केले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको छ । त्यहाँ विकसित भैरहेको स्थितिले यो क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन रसुरक्षा मामलामा दूरगामी परिणाम पर्ने निश्चित छ । यद्यपि तालिबानले अफगानिस्तानमा आममाफीको घोषणा गरेको छ, महिलालाई काम, स्कुलमा फर्कन र सरकारमा सहभागी हुन आह्वान गरेको छ र देशको शासनको लागि अन्य समूहहरुसँग वार्ता गरी समाधान निकाल्नको लागि काम गरिरहेको छ. तर उनीहरुले मान्यता पाउनको लागि अन्तर्राष्ट्रिय समुदायलाई गरेको अपिल सत्तामा रहँदाको उनीहरुकै विगतको व्यवहार र वर्तमानमा देश छाड्न चाहने नागरिकहरुप्रतिको दुर्व्यवहारको कारणले गर्दा संशयको घेराभित्र छ । यो गम्भीर मोडमा सार्कको अध्यक्षको हैसियतमा नेपालले यस क्षेत्रमा स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । हामी नेपाल सरकारलाई अफगानिस्तानको राजनैतिक घटनाक्रमले उत्पन्न चुनौतिहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको लागि आवश्यक पहल गर्नको लागि आग्रह गर्दछौं ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update