Kath Khabar
नेकपा एमालेको स्थायी कमिटी बैठकमा तेस्रो धाराका नेता सहभागी

काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलमा सुरु हुन लागेको छ । उक्त बैठकमा सहभागी हुन यसअघि तेस्रो धारका भनिएका सबै नौ नेता पुग्नुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर समेत मानिएका ती नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी हुन पुग्नु भएको हो । तेस्रो धारका नेता र अध्यक्ष ओलीबीच सोमाबार सहमति भएको हो ।

बैठकमा भाग लिन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पुग्नु भएको छ । त्यसैगरी यसअघि माधव नेपाल समूहमा रहेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि बैठकमा सहभागीता जनाउनु जानु भएको छ ।

त्यस्तै उपमहासचिव घनश्याम भुसाल पनि बैठकमा सहभागी हुन जानु भएको छ । त्यस्तै सचिवहरु भीम आचार्य, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि बैठकमा भाग लिन जानु भएको छ ।

सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार हुनु भएको थियो । बैठकपछि माधव नेपाललाई पार्टीमा फर्काउने प्रयास गरिने एक नेताले बताउनु भएको छ । माधव पक्षले भने चन्द्रागिरीमा आफनो छलफल अघि बढाउनु भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update