
गण्डकी, भदौ ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नु भएको छ । सार्वजनिक विवरण अनुरुप सबैभन्दा धनी कानुनमन्त्री विन्दुकुमार थापा र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ देखिनुभएको छ ।
मन्त्री भएको २ महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने आचारसंहिताको अधीनमा रहँदै यहाँका ९ जना मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । दीपक मनाङेको नामबाट चिनिने खेलकुदमन्त्री राजीव गुरुङ र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण बुझाउनु भएको छैन।
मन्त्रिपरिषदमा ११ जना सदस्य रहे पनि युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) र कृषि मन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छैन ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुझाएको सम्पत्ति विवरणमा उहाँको काठमाडौंमा घडेरी रहेको छ । उहाँको २५ लाख ५० हजार ऋण समेत रहेको छ । पाँच तोला सुन र पाँच लाख रुपैयाँ नगद सम्पत्ति भएका मुख्यमन्त्री नेपाली पोखरेलसँग तनहुँ, नवलपुरको गैंडाकोटमा जग्गा र घडेरी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उहाँले काठमाडौंको साङ्लामा ऋण लिएर घडेरी किनेको र बाँकी पैत्रिक सम्पत्ति भएको बताउनु भएको छ । मुख्यमन्त्री नेपालीले २०७६ सालमा कृषि विकास बैंकबाट २०७६ सालमा २५ लाख रुपैयाँ ऋण लिएको बताउनु भएको छ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको पोखरा-१६ मा ३८२ वर्गमिटर क्षेत्रफलमा घर रहेको छ । उक्त घरजग्गालाई खड्काले पैतृक सम्पत्ति र स्वआर्जन बताउनु भएको छ । उहाँका श्रीमती कमला खड्काको नाममा पोखरा–३३ मा २२२ वर्गमिटर जग्गा छ । उक्त जग्गा माइतबाट प्राप्त जग्गा साटफेरबाट आएको बताउनु भएको छ ।
यस्तै खड्काले ९५ तोला सुन तलब भत्ताबापत् एभरेष्ट बैंकमा २० लाख ३३ हजार नगद मौज्दात, अमरदीप सहकारीमा ६५ लाख र अन्य बैंकहरूमा १५ लाख नगद मौज्दात रहेको उल्लेख गर्नुभएको छ । उक्त रकम जमिन बेचेर प्राप्त लाभांश र छोराले विदेशबाट पठाएको उहाँको भनाई रहेको छ ।
सरकारका प्रवक्ता समेत रहेका खड्काले अमरदीप सहकारीमा ५१ लाख ५० हजारको शेयर, जन्मभूमि एजुकेशन फाउन्डेसन प्रालिमा ५ लाखको शेयर रहेको विवरणमा उल्लेख गर्नुभएको छ । उहाँले उज्जवल खड्कालाई ६० लाख र हरिबहादुर थापालाई २५ लाख ऋण दिएको उल्लेख गर्नु भएको छ । श्रीमती कमला खड्काको नाममा ४२ लाख मूल्यको गाडीसमेत रहेको मन्त्री खड्काको भनाई रहेको छ।
सम्पत्ति विवरणअनुसार सबैभन्दा देखिनु भएकी धनी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाको पोखरा-८ नयाँबजारमा ३ हजार ९११ वर्गमिटर क्षेत्रफलमा घर छ । आम्दानीको स्रोतमा ऋण र सापट देखाउनु भएको छ यस्तै, वडा नं. ९ मा ४ हजार ९९४ वर्गमिटर क्षेत्रफलमा उहाँको अर्को घर छ। यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ । उहाँले आम्दानीको स्रोतमा पैतृक सम्पत्ति भन्नु भएको छ।
यस्तै, लेकसाइडस्थित बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ। मन्त्री थापाले यी सम्पत्ति आफ्नो, २ श्रीमतीहरू राधा थापा क्षेत्री र मनलक्ष्मी थापाका नाममा छुट्टाछुट्टै राख्नु भएको छ । उहाँले परिवारमा ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा रहेको उल्लेख गर्नुभएको छ । उहाँले पैतृक सम्पत्ति र व्यवसायबाट उक्त सुन, चाँदी र हिरा आर्जन गर्नुभएको बताउनु भएको छ।
मन्त्री थापाले विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा गरी १० करोड नगद मौज्दात रहेको र ७ लाख ५० हजार कित्ता शेयर रहेको विवरणमा उल्लेख गर्नुभएको छ। उहाँले पोखराका विभिन्न ठाउँमा झन्डै १०० कित्ता जग्गा आफू, दुई श्रीमतीलगायत परिवारको नाममा रहेको समेत उल्लेख गर्नुभएको छ।
सम्पत्ति विवरणमा मन्त्री थापाले ५ वटा बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गुर्नभएको छ । उहाँले माछापुच्छ्रे बैंकबाट ११ करोड ७३ लाख ५३ हजार, एनएमबी बैंकबाट १० करोड ३५ लाख २१ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ५ करोड २९ लाख ६५ हजार, नविल बैंकबाट ४० लाख १३ हजार र सानिमा बैंकबाट ३ करोड २५ लाख १७ हजार रुपैयाँ ऋण लिनु भएको छ।
अर्थमन्त्री रामजी बराल जीवनले पोखरा–२२ मा १ रोपनी ४ आना २ दाम जग्गामा पैतृक सम्पत्तिका रूपमा घर रहेको उल्लेख गर्नुभएको छ। यस्तै, पैतृक सम्पत्ति र विदेशमा रहेका छोराले पठाएको पैसाले पोखरामै जग्गा खरिद गर्नुभएको तथा जग्गा आफ्नो र श्रीमती बुद्धिमाया बरालको नाममा रहेको उल्लेख गर्नुभएको छ ।
मन्त्री बरालसँग तलब भत्ताबापत् ३ लाख नगद मौज्दात छ। चार तोला सुन छ। विभिन्न कम्पनीका नाममा ४० कित्ता शेयर र निफ्राको ६० कित्ता शेयर रहेको पनि मन्त्री बरालले उल्लेख गर्नुभएको छ। उहाँले एनआइसी एसिया बैंकबाट १ करोड ऋण समेत लिनु भएको देखिन्छ। सम्पत्ति विवरणमा मन्त्री बरालले ६० हजार रुपैयाँको गाईसमेत रहेको उल्लेख गर्नुभएको छ।
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशहरण आचार्यले बुझाएको सम्पत्ति विवरणमा बुबा पुष्पराज आचार्यको नाममा गोरखाको पालुङटार–२ मा पैतृक सम्पत्तिमा रूपमा घरजग्गा छ। उहाँले श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३० लाख रुपैयाँमा जग्गा खरिद गरेका गर्नुभएको छ। उक्त रकम आमुल फर्निचर उद्योगको कमाइबाट प्राप्त भएको विवरणमा उल्लेख छ ।
मन्त्री आचार्यले परिवारमा रहेको ८ तोला सुन र ५ तोला चाँदी पनि सोही फर्निचर उद्योगबाट खरिद गर्नुभएको जानकारी दिनु भएको छ। उहाँसँग मन्त्रीका रूपमा तलब भत्ताबापत् आएको ५० हजार रुपैयाँ नगद मौज्दात रहेको तथा कृषि विकास बैंकबाट ५० लाख ऋण लिएको र १० लाख तिर्नु भएको छ। आमुल फर्निचर उद्योग चलाउन २०७४÷०७५ मा २० लाख ऋण लिइएको हो।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ नगरपालिका २ मा ४८ लाख ५० हजारमा घर किन्नु भएको छ । उहाँको जन्मगाउँ काठेखोला–८ लेखानी हो भने सम्पत्ति विवरणमा इन्द्रकली कँडेलको नाममा उक्त घर किनेको उल्लेख गर्नुभएको छ। कँडेलको लेखानी, बागलुङकै नरेठाँटी, चितवन र रुपन्देहीमा जग्गा रहेको छ ।
सम्पत्ति विवरणमा कँडेलले आफूसँग २५ तोला सुन र अन्दाजी १ किलो चाँदी रहेको बताउनु भएको छ। सुन र चाँदी विभिन्न समयमा खरिद गरेको, पुर्ख्यौली र दाइजोबाट प्राप्त भएको विवरणमा उल्लेख छ। मन्त्री कँडेलले आफ्नो नाममा ६ लाख र इन्द्रकली कँडेलको नाममा २ लाख नगद मौज्दात रहेको बताउनु भएको छ । इन्द्रकलीको नाममा रहेको १ लाख ८८ हजार ४०९ रुपैयाँ दक्षिणालगायत नियमित संकलनबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
मन्त्री कँडेलको नाममा ८७ हजार कित्ता शेयर छ भने २ करोड ६७ लाख रुपैयाँ ऋण रहेको बताएका छन्।
गण्डकीका शिक्षा, विज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको स्याङ्जामा र काठमाडौं नागार्जुनमा साढे २ तले पक्की घर छ । उक्त घर जग्गा पैतृक तथा व्यापारबाट आर्जन गरेको सम्पत्ति भएको श्रेष्ठले बताउनु भएको छ। स्याङ्जामा आफ्नो नाममा र काठमाडौंका विभिन्न ठाउँमा अनिता श्रेष्ठको नाममा उहाँको जग्गा छ।
पोखरामा पनि जग्गा खरिद गर्नुभएको उहाँले अनिताको नाममा काठमाडौंमा रहेको जग्गा ३ करोड १७ लाखमा खरिद गरेको उल्लेख गर्नुभएको छ। श्रेष्ठसँग नगद १५ लाख रुपैयाँ छ भने सुन १ किलो १९ तोला, चाँदी ७ किलो २ तोला, हिराको औंठी १ थान रहेको छ । सुन, चाँदी र हिरा पैतृक सम्पत्ति तथा पेवा रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ श्रेष्ठसँग ४५ लाख रुपैयाँ पर्ने कार पनि छ।
बैंक तथा वित्तीय संस्थामा ६ करोड ५२ लाख २३ हजार रुपैयाँ रहेको उल्लेख गर्नुभएको श्रेष्ठले जसमा ५ करोड ५० लाख अनिता श्रेष्ठको काठमाडौं, कीर्तिपुरको जग्गा बिक्रीबाट प्राप्त रकम बताउनु भएको छ। अन्य रकम भने व्यापारिक प्रयोजनको रकम भन्नु भएको छ।
श्रेष्ठको नाममा काठमाडौंस्थित क्यापिटल लिमिटेडको ५ लाख बराबरको शेयर, रक्षण सहकारीमा २ लाख र आधिखोला कोअपरेटिभ लिमिटेडमा १ लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गर्नुभएको छ । उहाँले सिटिजन्स बैंकबाट ७ करोड ९० लाख रुपैयाँ ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीसँग लमजुङको दूधपोखरी गाउँपालिका–४ मा १ लाख ५३ हजार वर्गमिटर क्षेत्रफलमा घर रहेको छ भने चितवनको कविलासमा २ वटा घडेरी तथा मकवानपुरमा पनि अर्को घडेरी छ । उहाँले ३ तोला सुन र एउटा स्कुटर मात्रै भएको उल्लेख गर्नुभएको छ ।
यस्तै, मकवानपुरको हेटौंडामा पनि उहाँले जग्गा किन्नु भएको छ। शहिद परिवारले पाउने राहत रकमबाट ३ लाख खर्चेर उक्त जग्गा किनेका विवरणमा उल्लेख छ। मन्त्री अधिकारीले आफूसँग ३ तोला सुन पैतृक सम्पत्तिका रूपमा रहेको उल्लेख गर्नुभएको तथा नगद मौज्दात प्रभु बैंकमा ३० हजार, सानिमा बैंकमा ६ लाख ५० हजार र एभरेष्ट बैंकमा १ लाख ८० हजार रहेको जानकारी दिनु भएको छ।
माओवादी केन्द्रबाट वन, वातावरण तथा भू-संरक्षणमन्त्री बनेका दीपक थापाको स्याङ्जाको विरुवा गाउँपालिका २ मा पैतृक सम्पत्तिबाट प्राप्त घर र पछि ५० हजार रुपैयाँमा किनेको जग्गा रहेको छ। यसैगरी उहाँले सोही ठाउँमा तलब र आफन्तको सहयोगमा ८ रोपनी जग्गामा सुन्तला लगाएको तथा तलबबाटै पोखरा-१४, छिनडाँडामा ४० लाखको घडेरी किनेको उल्लेख गर्नुभएको छ। ३० तोला सुन र २० तोला चाँदी पैतृक सम्पत्तिबाट प्राप्त भएको जिकिर गरेका उहाँसँग विभिन्न बैंकमा ४० हजारजति नगद रहेको छ। छोराले सञ्चालन गरेको नर्सरी तथा जग्गा खरिदका लागि उहाँले ६१ लाख ५० हजार रुपैयाँ ऋण लिनु भएको छ।
यस्तै, स्याङ्जाको विरुवामा ८ रोपनी जग्गा किनेको तथा जुन आफ्नो तलब, भत्ता, आफन्तबाट सुन्तला बगैंचा स्थापना गर्न खरिद गरेको उल्लेख गर्नुभएको छ । उहाँसँग पैतृक सम्पत्तिका रूपमा ५० तोला सुन र २० तोला चाँदी छ। बैंक तथा वित्तीय संस्थामा १५ हजार रुपैयाँ नगद मौज्दात रहेको छ । मन्त्री थापाले सहकारीबाट २० लाख ऋण लिएको र २५ वटा बाख्रा, ७५० बोट सुन्तला र सुर्ती नर्सरी उद्योग रहेको छ।