
काठमाडौं, भदौ ९ । अफगानिस्तान विद्रोही समूह तालिबानले शासन सत्ता हातमा लिएको छ । शासन सत्ता हातमा लिनु अघि नै अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुले उक्त मुलुक छाडी स्वदेश फर्किएका थिए । सोहि क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुले पनि अफगानिस्तान छाड्ने तयारी गरेका थिए । तर, नेपाल सरकारले उनीहरुको उद्धारको लागि प्रत्यक्ष उपस्थिति भन्दा पनि समन्वय र सहयोगमार्फत् उद्धार कार्य अघि बढायो ।
सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि विदेशी कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाहरुलाई गुहार्यो । संयोग अफगानिस्तानमा रहेको तथा श्रम स्वीकृति लिएर गएका नेपालीहरु विदेशी कुटनीतिक नियोग तथा अन्तराष्ट्रिय संस्थामा आवद्ध भई काम गरिरहेका थिए। अधिकांश सुरक्षा गार्ड थिए । जसले गर्दा उनीहरुको लागि विदेशी कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाहरुले उद्धार उडानको व्यवस्था गरिदिएर नेपाल फर्काए ।
अगस्ट १५ मा तालिबानले काबुल नियन्त्रणमा लिएर सत्ता सञ्चालनको तयारी गर्दाको लामो समय सम्म नेपाल सरकारले भने अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारको लागि भनेर उद्धार उडानको व्यवस्था गर्न सकेको छैन । उद्धार उडानको व्यवस्था गर्न नसकेको कुरा स्वयं परराष्ट्र मन्त्रालयले समेत स्वीकार गरेको छ। अफगानिस्तानमा उद्धार उडान भर्न नसक्ने अवस्था भए कै कारण नेपाली लिन जान नसकेको मन्त्रालयका एक अधिकारले बताउँनुभयो। ‘उद्धार वा चार्टर उडान गर्न सक्ने अवस्था छैन अफगानिस्तानको विमानस्थलमा, सैनिक विमान समेत जान नसक्ने अवस्था भएको कारणले गर्दा नेपाली लिन जान सकेका छैनौं’, ती अधिकारीले भन्नुभयो, ‘तर नेपालीको उद्धार त गरिरहेका छौं । चाहे विदेशी सहयोग लिएर होस् ।’
अफगानिस्तानमा उडान भर्न नसके पनि वैदेशिक रोजगारीका लागि त्यहाँ गएका युवाहरुको लागि सरकारले उद्धार उडान भने भर्न सक्ने थियो । त्यसका लागि अफगानिस्तानसँग सीमा जोडिएका वा पहुँच पुग्ने मुलुकहरुमा भने सरकारले उद्धार उडान भर्न सक्ने देखिन्छ ।
यता मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने उद्धार उडान प्राथमिकतामा रहेको बताउनुभयो । ‘हाल कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरेर उद्धार कार्यलाई सरकारले अघि बढाएको छ’ उहाँले भन्नुभयो, ‘उद्धार उडानको विषयमा सरकारले छलफल अघि बढाएको छ । यो मन्त्रालयको मात्र विषय नभई सरकारसँग जोडिएको विषय भएको हुँदा सरकारको निर्देशन अनुरुप हामी अघि बढ्ने छौं ।’
सम्पर्कमा आउने बाहेक सरकारले हालसम्म अफगानिस्तानमा कति नेपाली छन् भन्ने विषय समेत अन्यौलमा राखेको छ । सरकारले उद्धारका लागि बनाएको प्याकेज अन्तर्गत परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग र नयाँ दिल्लीस्थित नेपाली दुतावासको सम्पर्कमा आउने नेपालीलाई मात्र आफ्नो तथ्यांकमा राख्न सफल भएको छ । यसरी संख्या यकिन समेत नगर्दा उद्धारको लागि थप समस्या हुने देखिन्छ ।
उद्धारको लागि त्यहाँको परिस्थितिको जानकार हुनु आवश्यक छ मन्त्रालयकी प्रवक्ता लम्सालले भन्नुभयो । ‘त्यहाँको परिस्थिति अनुरुप नेपालीको उद्धार कसरी गर्ने विषय भर पर्छ’, उहाँले भन्नुभयो, हामीले परिस्थितिलाई आँकलन गर्दै समन्वय अघि बढाएका छौं ।’
यसैबीच श्रम विज्ञ गणेश गुरुङले सरकारले अफगानिस्तानबाट नेपालीको उद्धार कार्य प्रशंसनीय रहेको बताउनुभयो । ‘द्धन्द्धरत मुलुकबाट उद्धार गर्नु भनेको प्रक्रियागत विषय हो । सरकारले कुटनीतिक नियोग तथा संस्थामार्फत् स्वदेश फर्काउन सक्नु स्वागतयोग्य काम हो’ उहाँले भन्नुभयो,‘ वैधानिक/अवैधानिक नभनि उद्धारको प्रयासलाई निरन्तरता दिनु राम्रो हो । उद्धार कार्यलाई निरन्तरता दिनु पनि राम्रो हो ।’
मन्त्रालयले उडानको विषयमा भने काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण खुला नभएको जानकारी दिएको छ । अफगानिस्तानस्थिति नेपालीद्धन्द्धमा परेको यो पहिलो घटना भने होइन । २०७३ सालमा आत्मघाती हमलामा परि १३ नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो । सो सँगै २०७३ असार ९ मा नेपाल सरकारले अफगानिस्तानमा नेपाली सुरक्षाकर्मी पठाउन बन्द गरेको थियो । सुरक्षाकर्मी पठाउन दबाब परेसँगै सरकारले अफगानिस्तान खुला गरेको थियो ।
अफगानिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत तीन सय ८५ जना नेपालीलाई भने यसअघि नै काठमाडौं ल्याईसकेको छ । परराष्ट्रले जारी गरेको विज्ञप्तिीमा मंगलबारसम्ममा अफगानिस्तानबाट सात सय ७० जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याएको जनाएको छ । त्यस्तै अफगानिस्तानबाट उद्धार भई दोहो, दुबई, लण्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरुलाई काठमाडौंसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण गरीरहेको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७७/७८ मा १०७३ (३ महिला) अफगानिस्तान जानका लागि श्रम स्वीकृति लिएका छन् । मन्त्रालयले १४ हजार पाँच सय ६५ नेपाली अफगानिस्तानमा कार्यरत रहेको बताएको छ ।
अझै सयौं नेपाली अफगानिस्तानमा
यसैबीच अफगानिस्तानमा अझै पनि सयौं नेपाली रहेको तथ्य प्राप्त भएको छ । स्रोतका अनुसार अफगानिस्तानको एक सहरमा पाँच सय जना नेपालीहरु तालिबानको सुरक्षामा समेत रहेको बताइएको छ । तालिबानको नाममा अन्य समूहहरुले विदेशी नागरिकहरुलाई अर्थात् नेपालीहरुलाई असुरक्षा प्रदान गर्लान् भन्दै तालिबानले नै सुरक्षा दिएर बसेको स्रोतले जानकारी दिएको छ ।