Kath Khabar
जयसिंह धामीको परिवारलाई सरकारद्धरा १० लाख दिने निर्णय 

काठमाडौँ, भदौ ११ । तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले धामीको परिवारलाई आर्थिक सहायतास्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो। 

महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता हुनु भएको थियो।

भारतको बाटो भएर सदरमुकाम खलंगा आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता हुनु भएको हो। घटनाको बारेमा गृहले समिति बनाएर अनुसन्धान गरे पनि ठोस उपलब्धि हुन सकेको छैन। 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update