काठमाडौं, भदौं १३ । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न आग्रह गरेको छ । दल रोज्नको लागि आयोगले यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय सीमा तोकिदिएको छ ।
आयोगका पदाधिकारीहरूको आइतबार बसेको बैठकले दुवै दलका जनप्रतिनिधिहरूलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दल दर्ता भएका छन् । सरकारले हालै ल्याएको अध्यादेश अनुसार संघीय संसद् वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याए दल विभाजन गर्न सक्ने व्यवस्था गरेका छ । सोहि व्यवस्था पश्चयात दुवै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।
अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरू भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भएअनुसार भदौ २२ गतेभित्र दुवै दलका जनप्रतिनिधिले सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सो सँगै प्रदेशसभा सदस्यहरूले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरूले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा/स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने हुन्छ ।