Kath Khabar
बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं, भदौ १५ । नेकपा एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा मुख्यमन्त्री बनेको १३ दिनमै अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । ५५ जना सांसद रहेको सो प्रदेशका १२ जना सांसदहरुले नवगठित नेकपा (समाजवादी) पार्टी रोज्नु भए पछि शाक्य अल्पमतमा पर्नु भएको हो ।

नेकपा एमालेबाट प्रदेश सभा सदस्य भएका उहाँँहरुले पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौँडामा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नु भएको हो । निर्वाचन आयोगको बागमती प्रदेश कार्यालय पुगेर १२ जना एमाले सांसदहरुले नेकपा समाजवादीको पक्षमा सनाखत गर्नु भएको हो ।

प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गर्नु भएको हो ।

अल्पमतमा परेसँगै शाक्यले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । बागमतीमा शाक्यलाई हटाएर नेकपा एसले राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update