Kath Khabar
एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने

काठमाडौं, भदौ १६ । अमेरिकी सहयोग परियोजाना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै हुनुहुन्छ।  एमसिसी परियोजना कार्यान्वयन भएका मुलुकमा परियोजनाको वार्षिक स्थितिको अवस्थामा जाँचबुझ गर्न उपाध्यक्ष सुमार नेपाल आउन लाग्नु भएकी हुन्। 

नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली,  सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र सांसदहरूसँग उहाँले भेट्नु हुने कार्यक्रम रहेको छ। 

विवादस्पद परियोजनाको रुपमा रहेको एमसिसी २०१७ अप्रिल ५ मा दुई पक्षबीच सम्झौता भएको थियो । ५ अप्रलिमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र एमसिसी तर्फबाट सुमारले हस्ताक्षर गर्नुभएको थियो। वर्तमान सञ्चार सचिव अर्याल त्यो बेला अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख हुनुहुन्थ्यो। 

एमसिसी परियोजना अन्तर्गत नेपालले बिजुलीको प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि पाँच सय मिलियन अमेरिकी डलर (करिब ६० अर्ब रुपैयाँ) प्राप्त गर्नेछ । एमसिसीलाई लिएर नेपालका दल, नागरिक समाज लगायतका समूहमा एकमत रहेको पाइदैन।

एमसिसी  परियोजनाले नेपालमा आर्थिक विकासमा सहयोग पुग्ने देखि लिएर अमेरिकी सेना भित्रिने अफवाह समेतको आंकलन गरिएको छ। विवाद कै कारण एमसिसी परियोजना संसदमा पेश हुन सकेको छैन।  
 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update