काठमाडौँ, भदौ १७। वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन इतर पक्षबाट एकजना मात्रै साझा उम्मेदवार बनाउने बताउनु भएको छ । बिहीबार पत्रकार सम्मेलनको क्रममा नेता पौडेलले संस्थापन इतर पक्षबाट एकजना मात्रै साझा उम्मेदवार बनाउने गरी केही दिनमा घोषणा गर्ने बताउनु भएको हो ।
‘हाम्रोतर्फबाट सभापतिको उम्मेदवार एकजना मात्रै हुनु हुनेछ’, पौडेलले भन्नुभयो, ‘यो कुरामा हाम्रा देशभरका साथीहरुलाई पनि विश्वास दिलाउन चाहन्छौँ।’ अहिले संस्थापन इतर समूह पार्टीलाई एक बनाएर अघि बढाउने योजनामा रहेको पनि उहाँको भनाई छ । संस्थापनबाट शेरबहादुर देउवा फेरि दोहोरिने चर्चा चलिरहेका बेला नेता पौडेल समूह साझा उम्मेदवारको प्रयासमा लागेको हो ।
पत्रकार सम्मेलनमा उहाँसहित महामन्त्री शशांक, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइराला, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, गगन थापा, सरिता प्रसाईं र किरण यादव सहभागी हुनु भएको थियो ।

