
काठमाडौं, भदौ २२ । सरोकारवालाहरुले सैन्य रणनीतिअनुसार एमसीसी सम्झौता अगाडि बढाएको भन्दै त्यसको खारेजीको विकल्प नभएको बताएका छन् । उनीहरुले अमेरिका नेपालको प्राकृतिक साधन–स्रोत कब्जा गर्न र नेपाली भूमी प्रयोग गरेर चीन घेर्ने रणनीतिमा रहेको बताएका थिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीस्थित संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओावदी)का स्थायी समिति सदस्य सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीति अनुसार एमसीसी सम्झौता लागु गर्न चाहेको बताउनुभयो । उहाँले अमेरिकाले नेपालका बहुमूल्य प्राकृतिक साधन, स्रोतमाथि कब्जा जमाउन र चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी संसदबाट पास गराएर लागु गर्न चाहेको बताउनुभयो । नेता गजुरेलले एमसीसी नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेजीको गर्नुपर्ने बताउँदै त्यसमा राष्ट्रिवादी नेपाली एक हुनुपर्ने बताउनुभयो ।
नेकपा (माले)का महासचिव सीपी मैनालीले अमेरिकाले आफ्नो प्रतिष्टा र प्रभावमा धक्का लागेकै कारण एमसीसी सम्झौता अगाडि सारेको बताउनुभयो । उहाँले अमेरिकाले एमसीसीमार्फत सैन्य साझेदार बनाउन खोजेको भन्दै नेपाल स्वतन्त्र देश भएकोले यसबाट अलग रहनुपर्ने बताउनुभयो । महासचिव मैनालीले अमेरिकाले नेपालीभूमिमा सैन्य अखडा बनाएर चीनविरुद्ध गतिविधि गर्न एमसीसी जबरजस्त संसदबाट पारित गराउन चाहेको बताउनुभयो । उहाँले सरकारले एमसीसी संसदवाट पारित गराउन लागेको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालको कानुनभन्दा एमसीसी माथि राखिएको र एमसीसी लागु भए नेपालीहरुले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने भएकाले खारेज हुनुपर्ने बताउनुभयो । उहाँले अनुदानमा शर्त नहुने भएपनि एमसीसीमा अमेरिकाले नेपालको हित विरोधी शर्त राखिएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो ।
संसदमा पारित गराए कानुन बन्ने र त्यो नेपालको कानुनभन्दा माथि हुने भन्दै पोखरेलले एमसीसीलाई खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले तत्कालिन (नेकपा) ले एमसीसीको अध्ययन प्रतिवेदनमा संशोधन गर्न सुझाव दिएको भएपनि अमेरिका तयार नभएको समेत बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला अमेरिकाले नेपालीभूमि प्रयोग गरेर चीनविरुद्ध घेराउ गर्न एमसीसी जसरी पनि लागु गर्न चाहेको बताउनुभयो । उहाँले एमसीसी लागू भए अमेरिका र चीनबीच बढ्ने द्वन्द्वको मार नेपाल र नेपालीलाई हुने बताउनुभयो ।
नेपालका प्राकृतिक साधन र स्रोतमाथि कब्जा गर्ने र आफ्नो सैन्य रणनीतिमा नेपालमा सहभागी गराउने अमेरिकी योजना रहेको बताउनुभयो । उहाँले सम्झौता राष्ट्रघाती भएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताउनुभयो । एमसीसी खारेजीको लागि संघर्षमा आउन सबैलाई बास्तालाले अपील समेत गर्नुभयो ।
नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले एमसीसी संसदबाट पारित गरेर देशलाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको भन्दै युवाहरु त्यसविरुद्ध उठ्नुपर्ने बताउनुभयो ।
दार्चुलाका युवा जय सिंह धामीलाई तुइनबाट खसालेर महाकालीमा बगाउदा बोल्न नसक्ने जर्नेल र एमसीसीजस्तो राष्ट्रघाती परियोजना पास हुँदा ताली बजाउने विद्यावारिधीवाला डाक्टरप्रति घृणा लाग्ने गरेको बताउनुभयो । परिर्तनको लागि जनयुद्ध लड्दा टाउकाको मूल्य तोकिएका नेताहरु अहिले विदेशीको दलाल भएकै कारण जनताले दुःख पाएको बस्न्यातले बताउनुभयो ।
राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले राष्ट्रियतामा प्रतिवद्ध र प्रतिरक्षात्मक शक्ति भनेको कम्युनिस्ट भएको तर अहिले नेपालका केही कम्युनिस्ट पार्टीहरु एमसीसी पारित गराउन लागि परेको बताउनुभयो । उनले कम्युनिस्टहरुकै बिग्रिएकैले देश र जनताले दुःख पाएको बताउनुभयो ।
नेपाल एउटा पञ्चशील सिद्धान्त मान्ने स्वतन्त्र देश भएकोले अमेरिकी सैन्य रणनीतिअनुसार अगाडि ल्याइएको एमसीसी सम्झौता लागू गर्न नहुने केसीले बताउनुभयो । उहाँले अमेरिकाले सैन्य अखडा बनाएर चीनविरुद्ध नेपाल र नेपाली जनतालाई दुरुपयोग गर्न लागेको समेत बताउनुभयो । एमसीसीले कायापलट हुने जसरी प्रचार गरिएको भन्दै नेपालमा आवश्यकता ५० करोड डलर नेपाली जनता आफैले लगानी गर्न सक्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष हिमलाल पुरीले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएकोले खारेज गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले एमसीसीलाई संसदबाट पास गर्ने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सडकमा आउन अपील समेत गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमसीसी सम्झौता नेपालको कानुनभन्दा माथि राखिनु नै गलत भएको बताउनुभयो ।
उहाँले अनुदानबाट लागूहुने परियोजना संसदबाट पास गर्न आवश्यक नहुने बताउनुभयो । अमेरिकी कानुन नेपालमा लागू गर्न खोजिएको भन्दै भण्डारीले एमसीसी सम्झौता देशको हितमा नभएकोले खारेज गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य धनकुमारी सुनार, एमसीसी खारेज संघर्ष समितिका केन्द्रीय सदस्य भरत गौतमलगायतले एमसीसी देशको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो ।