
काठमाडौँ, भदौ २४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसदद्धारा संसद अवरोधका बीच संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश भएको छ ।
बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गराउनु भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश टेबल गर्न अनुमति दिनु भएको हो ।
दिउँसो ४ बजे सुरु भएको संसद बैठक एमालेको अवरोधपछि १५ मिनेटलाई स्थगित भएको थियो । पछि पुनः सुरु भएको बैठक पनि एमालेको अवरोधपछि १५ मिनेट नै स्थगित भएको थियो । तेस्रो बैठकमा भने सभामुख सापकोटाले गृहमन्त्री खाणलाई अध्यादेश पेश गर्न समय दिनु भएको थियो।
प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।