
काठमाडौं, भदौ २६। सरकारले कोरोना भाईरस (कोभिड १९) को खोप खरिदको लागि थप पाँच अर्ब रुपैयाँ छुट्याएको जानकारी दिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पुर्ववर्ती सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्पापन गर्दे चालुु आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिनुभएको हो ।
भ्याक्सिन खरिदको लागि श्रोत व्यवस्थान गर्न चालु खर्चतर्फ बैठक भत्ता, ईन्धन, मर्मत, कर्मचारी तालीम खर्च, सीप विकास तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौती गएिको र यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको पाँच अर्ब कोभिड–१९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको हो, अर्थमन्त्री शर्माले भन्नुभयो ।
अर्थमन्त्री शर्माले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल बनेको अर्थतन्त्रलाई पुनरूत्थान गरी चलायमान बनाउने विषय यो सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिनुभयो । कोभिड–१९ विरुद्धको खोप लगाउन योग्य सबै नेपालीलाई यथाशक्य चाँडो निःशुल्क खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चिततासहित स्रोतको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो ।
भदौ २३ गतेसम्म कोभिड–१९ महामारी विरूद्धको खोप ५७ लाख ३० हजार जनाले पहिलो मात्रा र ५१ लाख छ हजार जनाले पूर्ण मात्रा प्राप्त गरिसकेको र यो कूल जनसंख्याको १७ प्रतिशत रहेको उहाँको भनाई छ । नेपालमा हालसम्म खोपको एक करोड ३३ लाख ५९ हजार मात्रा भित्रिएको र करिब तीन करोड मात्रा प्राप्त हुने क्रममा रहेको जानकारी पनि अर्थमन्त्री शर्माले दिनुभयो ।