Kath Khabar
सभामुखको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौँ, भदौ २८। सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनु भएको छ । सोमबार अपराह्न २ः ३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनु भयो।

बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । सर्वदलीय बैठकमा सहभागिताका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई  बोलाइएको छ।

यसैगरी राष्ट्रिय जनमोर्चाबाट नेता दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनलाई पनि बैठकमा निमन्त्रणा गरिएको छ।

संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आइतबार पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन् ।

बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आइतबार एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नु भए पनि  कुनै निष्कर्ष निस्कन सकेन ।

१५ मिनेट स्थगित भएर बैठक सुरु भए पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेन । संसद् बैठक यही भदौ २९ गते सम्मका लागि स्थगित छ । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update