
काठमाडौं, भदौ २८ । सभामुख अग्नि सापकोटाको आह्वानमा सोमबार बस्न लागेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने हुनु भएको छ। संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठकमा एमालेले नै निरन्तर गरिरहेको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सोमबार दिउँसो सर्वदलीय बैठक राख्दै हुनुहुन्छ।
सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गर्नु भएको थियो । पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र ओलीबीच निकै दुरी बढेको छ । सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी हुनु भएको थियो।
सर्वदलीय बैठकमा सहभागिताका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई बोलाइएको छ।
यसैगरी राष्ट्रिय जनमोर्चाबाट नेता दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनलाई पनि बैठकमा निमन्त्रणा गरिएको छ।