लुम्बिनी, असोज २ । नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन हुनु भएको छ । बुटवलमा शुक्रबार बसेको पार्टीको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इञ्चार्जको जिम्मेवारी दिइसकेको छ।
प्रदेश अध्यक्षमा सारिएका चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद पनि हुनुहुन्छ । उहाँ एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक हुनुहन्थ्यो ।
यस्तै, बैठकले प्रदेश कमिटीको सचिवमा राजु गुरूङलाई चयन गरेको छ। केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताउनु भयो ।
यो कमिटीलाई आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटी बैठक र प्रदेश भेलापछि पूर्णता दिने तयारी छ । त्यस्तै शुक्रबारकै भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लामा भेला र बैठक गर्ने निर्णय पनि लिएको छ ।

