
काठमाडौं, असोज ६ । नेकपा माओवादी केन्द्रले आफना नेताहरुलाई सरकारमा सहभागी गराउने तयारी गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले आफना थप सदस्यहरु पठाउने तयारी गरेको हो । सोहि तयारीको लागि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
स्रोतका अनुसार बुधबार बस्ने बैठक मार्फत् सरकारमा सहभागी गराउने सदस्यहरुको छनोट गरिने छ। वर्तमान सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री हुनुहुन्छ ।
असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नु भएको छैन ।
कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री हुनुहुन्छ भने कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हुनुहुन्छ । यस्तै बुधबार मात्रै पराराष्ट्र मन्त्रीमा डा.नारायण खड्का नियुक्त गरिएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो । सोहि अनुरुप कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बस्न लागेको हो । काँग्रेसले पनि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ ।