
काठमाडौं, असोज ७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बिहीबार भित्रमा मन्त्रिपरिषदले पूर्णता पाउने बताउनु भएको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रिपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म भईसक्ने बताउनु भयो ।
पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोली बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिईसक्ने बताउनु भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो ।
बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ। प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिनु भयो ।
माओवादी केन्द्रले पार्टीको केन्द्रिय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। पौडेल यस अघि पनि सो पार्टी केन्द्रिय कार्यालयको सचिवको जिम्मेवारीमा रहेका थिए।