Kath Khabar
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ, असोज १० । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आइतबार पनि बस्दै छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक सुरु हुनेछ।

बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकिएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो। उहाँका अनुसार शनिबार १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ–आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।

समूहगत धारणा राख्ने अधिकांश नेताहरुले सत्तरी वर्षे उमेर हद कायम गरेर जानुपर्ने सुझाव दिएको बताइएको छ ।  आगामी स्थानीय निर्वाचनमा बहुमत ल्याउने विषयमा समेत छलफल भएको थियो।  आइतबार बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनुहुने छ ।

नेताहरूले जवाफ दिएपछि बैठकले प्रतिवेदन पारित गर्ने बुझिएको छ। शुक्रबारदेखि सुरु बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए।

केन्द्रीय कमिटी बैठकबाट प्रतिवेदन पारित गरिएपछि यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेस गरिने छ।

 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update