
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको हो । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड समेत तयार पार्नेछ ।
यस्तै माओवादी स्रोतका अनुसार सरकारमा सहभागी हुने विषयमा समेत बैठकमा छलफल हुने छ । नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यसका लागि अहिले देशभरि वडा सम्मेलनहरू भइरहेका छन् । असोज ३० गते गाउँपालिका र नगर सम्मेलनहरू गर्ने कार्यसूची तय भए पनि दसैँको बेलामा परेकाले मिति फेरबदल हुन सक्ने बताइएको छ ।
माओवादीले असोज मसान्तसम्म जनवर्गीय संगठन र जातीय मोर्चाहरुको बेला गर्ने भएको छ भने मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने कार्यतालिका बनाएको छ । त्यसपछि पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची छ ।