Kath khabar
नासाले खोज्दैछ चन्द्रमामा धुलोको सामना गर्ने जुक्ति

काठमाडौं, असोज १२ । सन् १९५८ जुलाई २९ मा स्थापित अमेरिकी वैज्ञानिक संस्था नासाले पाँच दशकपछि चन्द्रमामा फेरि मान्छे पठाउने तयारी गरेको छ । एक जोडी महिला र पुरुषलाई लामो समयसम्म चन्द्र सतहमा राख्ने गरी सन् २०२४ सम्ममा पठाउने तयारी नासाको छ । नासाले सन् १९६९ जुलाई २० मा संसारमै पहिलो पटक वैज्ञानिक निल आर्मस्ट्रङको टिमलाई चन्द्र सतहमा पठाएको थियो । पृथ्वीको उपग्रह भएर पनि चन्द्रमाको बातावरण एकदमै भिन्न छ । मानिसले त्यस उपग्रहमा अनेकौं चुनौतिको सामना गर्नु पर्दछ । पृथ्वीमा सामान्य रुपमा लिइने धुलो त्यहा एउटा ठुलो चुनौतिको रुपमा आएको छ ।

एपोलो ११ अभियान मार्फत पहिलोचोटि मानिसले चन्द्रमामा पाइला टेकेको थियो । पृथ्वीकै पहिलो चन्द्र मिसन एपोलो ११ ले चन्द्रमामा धुलोको कारण धेरै समस्या झेल्नु परेको थियो । धुलो क्यामेराको लेन्समा आई रेडिएटरलाई तताइदिदा चन्द्रसतहको तस्वीर लिन समस्या भएको थियो ।

नासालाई अब चन्द्रमामा पठाउन लागेको उपकरण र मानिसलाई कसरी त्यहाको धुलोबाट बचाउने ठुलो चिन्ताको विषय भएको छ । अमेरिकाको राजधानी वासिंगटन डि.सीको क्वीबलैंडमा अवस्थित अनुसन्धान केन्द्रका प्रमुख अन्वेषणकर्ता सैरोन मिलरले एउटा प्रेस सम्मेलनमा चन्द्रमाको धुलो बीस माइक्रोन (लगभग ०.००००७८ इन्च) भन्दा मसिनो हुने जानकारी दिनुभएको थियो  । 

मिलरका अनुसार एपोलो ११ यानका उपकरण चन्द्रमामा धुलोको कारण तातेका थिए । धुलोको कारण उपकरणबाट ऊस्मा (हिट इनर्जी) बाहिर निस्कन सकेन जसका कारण यान्त्रीक अबरोध पनि भएको थियो । उहाँका अनुसार चन्द्रमाको धुलो अति मसिनो सुक्खा र सिसाका टुक्राजस्तै तिखा हुन्छन् । 

नासाका अनुसार चन्द्रमामा धुलोको सामना सबै ठाउँमा एकै किसिमले गर्नु पर्दैन । चन्द्रमाको भूमध्य रेखा, उच्च भूमि तथा पछाडिका भागमा धुलोको प्रकृति फरक फरक हुन्छ । सुर्यको किरण पर्ने भागमा सौर्य विकिरणका कारण धुलोमा पोजेटिब ईलेक्ट्रिक चार्ज हुन्छ । त्यस्ता ठाउँका धुलो उपकरणमा चुम्बकीय तरीकाले टाँसिन्छ जसरी कपाल कोरेपछि प्लाष्टिकको काँइयोतिर धुलो तानिन्छ ।

धुलोको समस्या हल गर्न नासाले सन् २०१९ मा लुनार सरफेस इनोवेस इनिसिएटिव (एल एस आइ आइ) को स्थापना गरेको थियो । उक्त संस्थाले संसारभरका अन्तरिक्ष सम्बन्धी काम गर्ने संस्थासँग समन्वय गर्दै अध्ययन गरिराखेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update