
काठमाडौँ, असोज २४ । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गर्नु भएको थियो । हमालले आइतबार बिहान पदबाट राजीनामा दिनु भएको हो ।
विभिन्न सञ्चारमाध्याममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताउनु भएको छ ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामापत्रमा भन्नु भएको छ , ‘हाल विभिन्न सञ्चारमाध्यायमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरुबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु।’
हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गर्नु भएको हो ।
बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण उहाँले पदबाट राजीनामा दिनु परेको हो । हमालको नियुक्तिलाई लिएर न्याय क्षेत्रले तीव्र आलोचना गरेका थियो ।