
काठमाडौं, कार्तिक २ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो । बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनु भयो ।
प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराको भनाइ छ । त्यस्तै मंगलबारको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । जसमा १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।
प्रवक्ता महराकाअनुसार लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ । त्यस्तै विशेष समिति १७५ सदस्यीय बनाएको माओवादीले जनाएको छ ।
बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको बताइएको छ । संशोधन सँगै पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म म्याद थपिएको छ । संगठन सम्बन्धी केही निर्णयहरू भएका छन्, १४९ जनाको सल्लाहकार समिति बनाइएको छ,ज्येष्ठ कम्युनिस्ट मञ्च बनाइएको छ ९९ जनाको, विष्णुप्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग पहिल्यै बनाइएको छ, लेखा समिति २५ जनाको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको छ ।
यस्तै भूगोल भन्दा बाहिर काम गर्ने साथीहरूको विशेष समिति १७५ जनाको बनाइएको छ। माओवादीको अर्को बैठक कार्तिक ४ गते पुन बस्नेछ ।