
काठमाडौँ, कार्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको सय दिन निकै उपलब्धिमूलक भएको सरकारले उल्लेख गरेको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयले १०० दिनमा कोभिड–१९ को खोप अभियानमा निकै ठूलो प्रगति भएको उल्लेख गरेको छ । मंगलबारसम्म ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्णमात्रामा खोप लगाइसकेका छन् भने ८५ लाख ६२ हजार ३ सय ६५ जनाले कम्तीमा एक मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।
प्रधानमन्त्री भएपछि देउवाले सरकारको एकमात्र प्राथमिकता सबै नागरिकलाई २०७८ चैतसम्म कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने र आर्थिक गतिविधि र जनजीवन सामान्य बनाउने बताउनु भएको थियो । असोज महिनाको अन्त्यसम्म एकतिहाई लक्षित जनसंख्यालाई खोप लगाउने भनिएकोमा ३२.६ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
सरकारले ‘नेपाल पहिला’ परराष्ट्र नीति अबलम्बन गरेको र खोप कूटनीतिमा तुलनात्मक सफलता हात पारेको दाबी गरेको छ ।
सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी मैत्री वातावरण निर्माण गर्न र आर्थिक स्थायित्व दिने काम भएको विषय उपलब्धिमा समेटेको छ । कोभिड–१९ प्रभावित व्यवसायलाई राहत, विपद् व्यवस्थापन र पूर्वतयारी, स्टार्टअप व्यवसायलाई प्रोत्साहन, विद्युत तथा सडक पहुँच विस्तार तथा सबै ठाउँमा इन्टरनेट सेवा पुर्याइएको सरकारको १०० दिने उपलब्धिमा उल्लेख छ ।
‘वैदेशिक रोजगारमा तथा देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्नेगरी कानुनको मस्यौदा तयार भएको छ,’ उपलब्धिमा भनिएको छ, ‘विद्युतीय भुक्तानी, विद्युतीय माध्यमबाट कर विवरण हेर्ने तथा भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।’]
देउवा सरकार गठन भएको १०० दिनमा सरकारी कागजातको डिजिटल आर्काइभिङ्ग, दुर्गम क्षेत्रमा डिस्टेन्स लर्निङ्ग सेवा, प्राकृतिक विपत्तिमा तत्काल प्रतिकार्य (रेस्पोन्स), जटिल रोगहरू (क्यान्सर, मिर्गौला र स्पाइनल इन्जरी) बिरामीलाई मासिक ५ हजार रुपैयाँ, कोभिड–१९ महामारी प्रभावित भइ रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा काम गर्ने करिब ५ लाख अति विपन्न परिवारलाई प्रतिपरिवार एक पटकका लागि १० हजार रुपैयाँ राहत दिने घोषणालाई उपलब्धिमा समेटिएको छ ।
यसका साथै युवा विद्यार्थी लक्षित पढ्दै, कमाउँदै कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा, सातै प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माण शुरु, सरकारका विकास कार्यक्रम र परियोजनाबाट हजारौंलाई पूर्ण रोजगारी, भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको निर्माण तथा भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दीर्घकालका लागि समाधान गर्न भूमि आयोग गठन गरी कार्य प्रारम्भ भएको १०० दिने उपलब्धिमा उल्लेख छ ।
सरकारले सीमित स्रोत, साधन र जनशक्तिले बाढी, पहिरो तथा डुबानमा परेका जनताको उद्धार, राहत तथा पुनः निर्माणमा गरेको काम, जनताको समृद्धिका लागि सरकारको साझा न्यूनतम कार्यक्रममार्फत अघि बढाएका कार्यक्रम र योजनाको कार्यान्वयन चरण, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति महत्वपूर्ण कार्यक्रम हुन् ।
त्यस्तै सोमबारको मन्त्रिपरिषद्को निर्णयबाट साफ च्याम्पियनसिप उपविजेता खेलाडीहरूलाई प्रोत्साहन स्वरूप जनही ५ लाख रुपैयाँ दिने घोषणालाई पनि उपलब्धिमा समेटिएको छ ।
सर्वोच्च अदालतको परमादेशको आधारमा देउवाको नेतृत्वमा गत असार २९ गते सरकार बनेको थियो । देउवालाई नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपां) र राष्ट्रिय जनमोर्चासम्मिलित ५ दलीय गठबन्धनको समर्थन रहेको छ ।