काठमाडौं, वैशाख १८ । कोभिड १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र संकमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउन समेत नसकिने भनि स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सक्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो, साझाले भनेको छ ।
कोरोना संकट हामीमाझ अहिले अपर्झट आइपरेको हैन । कोरोना महामारीको पहिलो चरण सुरु भएको एक वर्षभन्दा बढीको यो अवधिमा संक्रमण बढ्दा सामना गर्न सक्ने प्रणाली विकासका लागि पर्याप्त तयारीको अवसर थियो, आजको यो स्थिति आउनुमा क-कसलाई उत्तरदायी बनाउनु पर्ने हो, उपयुक्त समयमा त्यो गरिने नै छ । तर अहिले राज्य र सबै नागरिक एकजुट भएर संकटसँग जुध्नुपर्ने समय भएकाले विवेकशील साझा पार्टी तत्काल निम्न कामहरू अघि बढाउन सरकारलाई आव्हान गरेको छ, साझाले भनेको छ ।
काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना संक्रमितहरु उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत-साधनको समुचित प्रयोग गर्न साझाले सुझाव दिएको छ । सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना गर्न, सेना र प्रहरीकासहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्नुपर्ने साझा पार्टीको सुझाव रहेको छ।
मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पी.पी.ई. जस्ता आवश्यक सामग्री सहयोगको अपिल गर्दे हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन ल्याउन पनि साझाले जोड दिएको छ ।
निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी गर्न आग्रह गर्दे विवेकशील साझा पार्टी आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई कोरोना विरुद्धको सघर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न पुनः आह्वान गरेको छ, साझाले भनेको छ ।