Kath Khabar
एकीकृत समाजवादीको सर्लाही अध्यक्षमा सुरेन्द्र लामा चयन

सर्लाही, कार्तिक ६ । एमालेको विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) को जिल्ला अध्यक्षमा सुरेन्द्र लामा चयन हुनु भएको छ । घुर्कौली निवासी लामा २०७० सालको संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएको थियो ।

पार्टीको सर्लाही जिल्ला कमिटी उपाध्यक्षमा भने मलंगवाका देवेन्द्र यादव र सचिवमा परवानिपुरका गोविन्द अधिकारी चयन हुनु भएको छ ।

अध्यक्ष तथा जिल्ला कमिटी घोषणा गर्न एकीकृत समाजवादीमा लामो रस्साकस्सी चलेको थियो । पार्टी प्रदेश कमिटीको निर्णयलाई अनुमोदन गर्दै केन्द्रीय कमिटीले सर्लाही जिल्ला कमिटी घोषणा गरेको हो।

केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध घोषणा गरिएको ३०१ सदस्यीय संघर्ष कमिटीलाई नै जिल्ला कमिटीमा रुपान्तरण गरिएको एकीकृत समाजवादीले जानकारी दिएको छ । पछिल्लो समय ओलीको विरोधी खेमका रुपमा रहेका एमालेका पूर्व अध्यक्ष रेवती पन्त भने पुनः ओलीतिरै नै लाग्नु भएको छ ।

एकीकृत समाजवादीको जिल्ला इन्चार्जमा प्रदेश सभा सदस्य समेत रहेका रवीन्द्र बैठा र सहइन्चार्जमा प्रदेश सभा सदस्यद्वय बेची लुंगेली र डिल्ली प्रसाद उप्रेती तोकिनु भएको छ ।

सर्लाहीमा एमालेका अधिकांश पुराना नेताहरु एकीकृत समाजवादीतर्फ सामेल हुनु भएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update