
काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी–पहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जानु हुने भएको छ । प्रधानमन्त्री देउवा आइतबार पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जान लाग्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा बिहान ८ बजे पुग्ने तय गरिएको छ भने उहाँ आइतबार साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ । बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पुर्याएको क्षतिबारे निरीक्षण गर्नु भएको थियो ।
बाढी–पहिरो प्रभावित क्षेत्रको अवलोकनपछि सरकारले पीडितलाई तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गर्ने तयारी गरिरहेको छ । गत साता आएको बाढी पहिरो र डुबानबाट एक सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने ठूलो मात्रामा धानबाली र मानव बस्तीमा क्षति भएको छ ।