
काठमाडौं, कार्तिक ९ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को मंगलबार देशभर पालिका अधिवेशन हुँदैछ । एमालेले मंगलबार ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।
पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्न हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको हो ।
गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले पर्सि स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रभावित धेरैजसो जिल्लामा आउँदो १५ गते अधिवेशन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । धेरैजसो जिल्लामा १२ गते वडा अधिवेशन गर्ने तयारी भएको छ । अन्य क्षेत्रमा भने गएको ६ गते नै वडा अधिवेशन भएको थियो । असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन् ।एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुँदैछ ।