काठमाडौं, कार्तिक १०। कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्नु भएको छ। उहाँहरुले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आफूहरु बुधबारदेखि आन्दोलनमा उत्रिने बताउनु भएको छ । नेपाल बार एशोसियशनका पदाधिकारीहरुले बुधबारदेखि इजलास बहिष्कार लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको छ ।
मंगलबार बसेको बारको कार्यसमिति बैठकले न्यायपालिकामा राजनीतिक हस्तक्षेप संविधानका व्यवस्थाले नै निम्त्याएको निष्कर्ष निकालेको छ । न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको समितिको प्रतिवेदनले दिएको सुझावअनुसार पेशी व्यवस्थापन, बेञ्च गठन लगायतका कुरामा प्रधानन्यायाधीले चासो नदिएको तथा नीतिगत रुपमा गर्न सकिने नियमावली, कार्यविधि, मापदण्ड निर्माण समेतका काममा र इजलास नियमित गर्ने समेतका कुराहरुमा समेत सुधार नभएको बारको ठहर छ ।
केही मुद्दाहरुमा अस्वाभाविक रुपमा पेशी नचढाई सुनुवाइ गर्न ढिलाई गरेको, केही मुद्दाहरुमा अविश्वसनीय तरिकाले छिटो पेशी राखी सुनुवाई गर्ने गरेको, मन्त्रिपरिषद् र संवैधानिक नियुक्ति समेतमा हिस्सेदारी खोजेको, प्रधानन्यायाधीश विपक्ष भएका मुद्दाको पेशी लामो समयसम्म प्रारम्भिक सुनुवाइमा नचढेको, कुनै मुद्दाहरु निश्चित न्यायाधीशहरुको इजलासमा मात्र पेशी चढाउने गरेको, विचौलिया व्यक्तिहरुलाई संरक्षण गरेको बारले आरोप लगाएको छ । प्रधानन्यायाधीशले सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, एकपछि अर्को विवादमा तानिएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आई स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकोले अब प्रधानन्यायाधीशबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने बारले निष्कर्ष निकालेको छ ।
यस्तै न्यायपालिकामा राजनीतिक हस्तक्षेप बढ्दै जानुमा संविधानमा भएका न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था, संवैधानिक परिषदमा प्रधान न्यायाधीशको संलग्नताको व्यवस्था, न्याय परिषद्को संरचना सम्बन्धी व्यवस्था लगायतका व्यवस्थाहरु पनि जिम्मेवार भएको बारले जनाएको छ ।
न्यायपालिकाको नेतृत्वमा रहेका व्यक्तिहरुलाई कार्यपालिकामा भाग दिन र न्यायाधीशरुलाई मानपदवी समेत दिई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्न खोज्ने सरकार र राजनीतिक दलहरुको कार्यप्रति समेत एशोसिएशनले घोर निन्दा र भत्र्सना गरेको बताएको छ । अन्त्यमा प्रधानन्यायाधीश राणाले राजीनामा नदिएमा नेपाल राज्य भरका बार एकाईमार्फत आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने समेत बताएको छ ।