Kath Khabar
महाधिवेशनको नयाँ मिति तय गर्ने तयारीमा नेपाली कांग्रेस
नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा ।

काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति फेरि सार्ने तयारी गरेको छ । मंगलबार भएको केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच बैठकले महाधिवेशनको मिति नयाँ तय गर्ने विषयमा छलफल गरेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो ।

कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुने वातावरण बनेको छैन । प्रदेश २ का आठ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ । कांग्रेसले २१ हिमाली जिल्लामा दशैँअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै सकिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update