Kath Khabar
नेपाल बार एशोसिएसनद्वारा प्रधान न्यायाधीश जबराको राजीनामा माग

काठमाडौं, कात्तिक १० । नेपाल बार एशोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गरेको छ । बारले आज बुधबार बिज्ञप्ती जारी गर्दे प्रधान न्यायधीश जबराको राजीनामा माग गरेको हो ।

राजीनामा विषयमा बारले विज्ञप्ति जारी गर्दे भनेको छ, नेपाल बार एशोसिएसन बिगतदेखि नै स्वच्छ, स्वतन्त्र, सक्षम, निष्पक्ष र पारदर्शी न्यायपालिकाको पक्षमा सँधै प्रतिवद्ध रहि आएको छ । कुनै पनि निकायमा विकृति, विसंगति, विचौलिया, भ्रष्ट्राचार हुनु हुँदैन, न्यायपालिकामा त झन हुँदैन । यस्ता गलत क्रियाकलापहरु रोक्न नेबाएले पटक–पटक सम्मानित सर्वोच्च अदालत, प्रधान न्यायाधीश र न्याय परिषद्को ध्यानाकर्षण गराई आईरहेकोमा सुधारको सकारात्मक सन्देश नआएको र विकृति, विसंगति तथा न्यायिक विचलन कायमै रहेको, प्रधान न्यायाधीशज्यूले सहकर्मी न्यायाधीशको विश्वास लिन नसकेको लगायतका समग्र बस्तुस्थितिको मूल्याङ्कन गरि नेबाएले मिति २०७८/०७/०९ गते प्रधान न्यायाधीशज्यूको राजिनामा माग गरेको र केहि दिनदेखि सर्वोच्च अदालतमा मुद्दाका सुनुवाईहरु प्रभावित हुन पुगेका छन् । यसबाट सर्वोच्च अदालतका सेवाग्राहीहरुलाई केहि असुविधा पर्न गएको कुरामा हामी जानकार छौं ।

विज्ञप्तिमा भनिएको छ, न्यायपालिकामा बिगत केहि वर्षदेखि विकृति, विसंगति बढ्दै गएको, सबैलाई समान, सहज र निष्पक्ष न्याय प्राप्त नभएको विषय गम्भीर चासो र सरोकारको विषयलाई सम्बोधन गरि, सुधारका कार्य थालनी गर्न प्रधान न्यायाधीशबाट राजिनामा दिई निकास दिन नेबाएले जोडदार माग गरेको छ । न्यायपालिका सुधारका कार्यक्रमहरु लागू गराउने समेतका कार्यमा नेबाए, न्याय तथा कानूनी क्षेत्रका व्यक्तिहरु र सेवाग्राही लगायत आम नागरिकहरूको पनि सहयोग अपेक्षित रहन्छ । तसर्थ यस पुनित कार्यमा सहयोग पुर्‍याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ । न्यायपालिकाको समग्र सुधारका अभियान शुरु गर्दा केहि दिन पेशी सुनवाई स्थगित हुन सक्ने अवस्था देखिएको छ । अनपेक्षित तर अनिवार्य परिस्थिति सिर्जना भएकोले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीहरूमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं । केही दिन धैर्यधारण गरि न्यायिक सुधारका कार्यमा सहयोग पुर्‍याउन पुनः हार्दिक अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update