Kath Khabar
प्रधानमन्त्री ओलीद्धारा नागरिक एपको औपचारिक शुभारम्भ

काठमाडौं, वैशाख १९ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले बहु सुविधा सम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गर्नुभएको हो । 

सम्भव भएका सबै सरकारी सेवालाई एउटै एप्सबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गते देखि बेटा भर्सनकोरुपमा सुरु भएको थियो । बेटा भर्सनमै यो एप पाँच लाख २५ हजार भन्दा बढीले डाउन लोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन् । यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जना भन्दा बढीले प्यान नम्बर लिसकेका छन् ।

कार्यक्रममा कुनै पनि सेवा लिन नागरिकता, सबन्धित कागजात र फोटो लिएर सरकारी कार्यालय धाउनु पर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको जानकारी कार्यक्रममा दिइयो नागरिक एप प्रणालीमा सम्बद्ध व्यक्तिका नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता आधारभूत विवरणहरु छन् ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ । एसएलसी र प्ल-सटु तहका शैक्षिक विवरण समेत एपमा रहनेछन् । पछिल्लो समय स्वास्थ्य बीमाकोे सुविधा पनि यसमा थपिएको छ । नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत दिन थालिसकिएको छ ।

प्रधानमन्त्रीले आजबाटै सुरु गरिएको एप्सबाटै क्यु आर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणालीको सुरुवात समेत गर्नुभएको छ । उहाँले सो एपमार्फत आफ्ना विवरण पठाइ नेपाल बैंक लिमिटेडमा आफ्नो खाताखोलेर यसको सुरुवात गर्नुभएको थियो । शुभारम्भपछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाहदेखि सामाजिक अन्तक्र्रिया समेतमा आधारभूत परिवर्तन आएको बताउनुभयो । सेवालाई पेपरलस र फेसलेस (आफैं पुग्नुपर्ने झन्झटबाट मुक्त) बताउने भनाई उहाँको थियो । यसअघिको बेटा संस्करण मै उत्साह पूर्ण सहभागिता रहेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । आगामी दिनमा अन्य सरकारी सेवा समेत एपमा थपिने बताउँदै उहाँले यसबाट सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त र जवाफ देही बनाउन समेत मद्दत गर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । 

‘सम्मृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाइएको सूचना प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदारणीय काम गरेका सुधिर पराजुली, कुसुमलामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यस वर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो ।  

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update