Kath Khabar
आजदेखि प्रधानन्यायाधीशविरुद्ध नेपाल बारको चरणबद्ध आन्दोलन

काठमाडौँ, कार्तिक १४ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबारदेखि सर्वोच्च अदालत परिसरमै विरोध कार्यक्रम गर्ने भएको छ । बारले आइतबारदेखि सर्वोच्च अदालत परिसरमै कालो पट्टी बाँधेर विरोध गर्ने बारका अधिकारीहरुले बताउनु भएको छ ।

आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो । विरोधको यो कार्यक्रम तीन दिनसम्म सञ्चालन गरिने बताइएको छ ।

शुक्रबार बसेको बारको बैठकले प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यस्तै तिहारअघिका चार दिन कालोपट्टी बाँधेर विरोध जनाउने, हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने निर्णय उक्‍त बैठकले गरेको थियो । दोस्रो चरणका कार्यक्रम भने तिहारपछि बैठक गरेर सार्वजनिक गरिने बताइएको छ  । बारले राणाले राजीनामा नदिउन्जेल आन्दोलन जारी राख्ने बताएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update