Kath Khabar
जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डलाई उच्च प्राथमिकतामा राख्नुपर्ने : प्रधानमन्त्री देउवा
जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकलाई सम्बोधन गर्नु हुदै प्रधानमन्त्री देउवा । तस्बिर : भिष्मराज ओझा÷रासस

काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका नेताहरुले जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ । जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकलाई सम्बोधन गर्नु हुदै प्रधानमन्त्री देउवाले  उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गर्नु भएको हो ।

उहाँले हिमाली क्षेत्रमा तीव्र गतिमा उष्णता बढेर समग्र दक्षिण एशियामै खाद्य, जल, ऊर्जा र मानवीय सुरक्षामा गम्भीर चुनौती खडा गरेको र हिमतालहरु पग्लेर समुद्री सतह बढ्न जाँदा तटीय र टापू राष्ट्रहरुको अस्तित्व सङ्कटमा पर्न थालेको सन्दर्भ अघि सार्दै यस्तो आग्रह गर्नु भएको हो ।

कोप–२६ सम्मेलनले लिने निर्णयले अहिले प्रभावित जनसमुदाय, भावी पुस्ता र प्रकृति माताप्रति न्याय गर्नै पर्ने र ती निर्णयहरु माथि धेरै हदसम्म पृथ्वीमण्डलको भविष्य निर्भर रहने प्रधानमन्त्री देउवाले बताउनु भयो । नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको समेत उहाँले बैठकमा बताउनु भयो ।

विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाउनु भयो ।

सो क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, बेलायती समकक्षी बोरिस जोन्सनलगायतसँग पनि भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update