काठमाडौं, कार्तिक १७ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उहाँलाई मंगलबार राति शपथ ग्रहण गराउनु भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो सोमवार राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न मंगलबार बेलुका ७ बजेसम्म आह्वान गर्नुभएको थियो । त्यहीअनुसार जीवनबहादुर शाहीले दाबी पेस गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका नेपाली कांग्रेसका शाहीलाई आफ्ना दलकासहित माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी ) पार्टीको २१ जना प्रदेश सभा सदस्यको समर्थन छ । माओवादी केन्द्र र एसको सहमतिमा शाही मुख्यमन्त्री बन्न सफल हुनु भएको हो ।
यसअघिका माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएपछि उहाँले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । शाही यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नु भएको थियो । कर्णालीमा कांग्रेसका प्रभावशाली नेताको रुपमा चिनिने शाही पछिल्लो पटक हुम्लाबाट सांसद् बन्नु भएको थियो । शाही कर्णाली प्रदेशसभामा कांग्रेसको तर्फबाट एक मात्र प्रत्यक्ष निर्वाचित सांसद् समेत हुनुहुन्छ ।