Kath Khabar
आफ्नै पार्टी र सरकार जोगाउन नसक्नेले यो सरकार ढलाउने धम्की नदिए हुन्छ :  गृहमन्त्री

काठमाडौं, कार्तिक १७ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिनु भएको छ ।

पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयसँगको अन्तर्क्रियामा मंगलबार उहाँले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिनु भएको हो ।

विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने दाबी गर्नु भएको थियो।

‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ’, उहाँले भन्नु भयो ।

वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिया गर्न गाउँ गाउँ जाने गरेको उहाँले बताउनु भयो ।

जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उहाँको भनाई छ ।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे सात दिनमा अहिलेको सरकार ढल्ने बताउनु भएको थियो।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update