
काठमाडौं, कार्तिक २२ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायपालिका संकटमा परेको बताउनु भएको छ ।
प्रधानन्यायाधीश राणाविरुद्ध सोमबार नेपाल बार एसोसिएसनमा जारी अन्दोलनमा अधिवक्ता त्रिपाठीले प्रधानन्यायाधीशको गैर न्यायीक आचरणले गर्दा आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताउनु भयो।
उहाँले बेञ्च बस्न नसक्नु र इजलास बहिष्कार हुनु सबैमा प्रधानन्यायाधीश राणा दोषी भएको बताउनु भयो । ‘न्यायपालिकालाई खतरा प्रधानन्यायाधीशबाट नै छ। उनको आचरण र व्यवहारले नै अहिलेको परिस्थिति देखा परेको हो’, त्रिपाठीले भन्नु भयो, ‘बेञ्च बस्न नसक्नु, इजलास बहिष्कार हुनु सबै उहाँको कारण हो।’
राणाका कारणले नै आज न्यायालयले सम्मान गुमाएको बताउँदै उनी समस्या समाधान गर्ने नभइ निम्त्याउने व्यक्ति भएको बताउनु भयो।
यस्तै वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानन्यायाधीश राणाले पेसी तोक्दा गोलाप्रथा नगरेको समेत आरोप लगाउनु भयो। उहाँले आफू अनुकूलको न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारी दिनकै लागि गोलाप्रथालाई नजरअन्दाज गरेको बताउनु भयो ।
‘जनताको विश्वास न्यायपालिकामा समाप्त भएको छ। महासंकटको सामना गर्नु परिरहेको छ। आज नागरिकको अधिकार कुण्ठित भएको छ,’ उहाँले भन्नु भयो,‘ उहाँ अहिले पनि त्याग गर्न तयार हुनु भइरहेको छैन। उहाँका सहकर्मीहरुनै आन्दोलनमा छन्। प्रन्यायको नेतृत्व असफल भइसकेको छ।’
उहाँ जस्तो असक्षम र भ्रष्ट प्रधानन्यायाधीश अहिलेसम्म कोही पनि भएन, सम्मानजनक निकासका लागि सम्मानजनक काम पनि गरेको हुनुपर्ने उहाँको भनाई छ । राणाले राजीनामा नदिए देशभरका अदालतमा आन्दोलन अघि बढ्ने वरिष्ठ अघिवक्ता त्रिपाठीको भनाई छ ।