Kath Khabar
भीम रावलको प्रश्न–अन्तरपार्टी निर्देशन –१२ झापामा लागू हुने, सुदूरपश्चिममा लागु नहुने किन ?

काठमाठौं, कार्तिक २३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज मंगलबार हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गर्नु भएको छ । आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गर्दैै उहाँले बैठक बहिष्कार गर्नु भएको हो । ‘गुटबन्दी’का आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय ‘अवैध र अमान्य’ हुने रावलको भनाई छ ।

‘आज हुने भनिएको कथित सु.प (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’, रावलले मंगलबार बिहानै भन्नु भयो , ‘यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अन्तरपार्टी निर्देशन –१२ झापामा लागू हुने, सुदूरपश्चिममा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

सर्वोच्च अदालतको फैसलाबाट तत्कालीन नेकपा भंग भएपछि पुनजीर्वित एमालेमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको पक्ष र अध्यक्ष केपी शर्मा ओलीको समूहबीच व्यापक विवाद भएको थियो। त्यस क्रममा पार्टी फुट्न नदिन भन्दै दुवै पक्षका नेता सम्मिलित कार्यदल बनाई १० बुँदे सहमति गरिएको थियो।

जसमा एमालेलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनुभन्दा अगाडि (२०७५ जेठ २) को संचरनामा फर्काउने भनिएको थियो। तर पनि माधव नेपालले यसमा अविश्वास तथा अन्य कतिपय बुँदामा असहमति जनाउँदै अलग्गै पार्टी नेकपा एकीकृत समाजवादी गठन गरे भने भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत माधव नेपाल पक्षधर १० नेताचाहिँ ओलीसँगै बस्नु भयो, सहमति कार्यान्वयन हुने आशमा।

तर अन्ततः ओलीले अदालतको फैसलापछि रामबहादुर थापालगायत माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूलाई दिइएको जिम्मेवारी यथावत् राख्नु भयो। त्यसमा पनि सुदूरपश्चिम प्रदेशमा पहिले एमाले इन्चार्ज रहेका  रावललाई पुनः त्यो पद दिनु भएन। जसले गर्दा उहाँले दसबुँदे आफ्नै लागि मात्र कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउदै आउनु भएको छ । ​

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update