
काठमाडौं, कार्तिक २५ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरू भएको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रपति कार्यालय शितल निवासबाट जनगणना प्रारम्भ गरिएको हो।
बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको लगत लिएर जनगणना सुरू गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनु भयो । जनजणना सुरु गर्ने क्रममा राष्ट्रपति भण्डारीको व्यक्तिगत र पारिवारिक विवरण महानिर्देशक श्रेष्ठ आफैंले लिनु भएको थियो ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार श्रेष्ठले गणकको रूपमा राष्ट्रपति भण्डारीलाई प्रश्न सोध्नु भएको थियो । ‘उहाँले सम्माननीयज्यूलाई नाम, उमेर, घर, जमिन लगायतका विवरण सोध्नुभयो। राष्ट्रपतिज्यूले केही प्रश्नको उत्तर आफैंले दिनुभयो,’ अधिकारीले भेन।
राष्ट्रपतिको लगत लिनका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाल, आयोगका सचिव केवल भण्डारीसहितको टोली शितल निवास पुगेको थियो।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको यो पहिलो जनगणना हो। यस जनगणनाले संघीयताको मर्म अनुसार सेवाहरू विकेन्द्रित भए नभएको, नागरिकहरूको जीवनस्तरमा के कस्तो परिवर्तन भयो भन्ने कुराहरूको वास्तविक अवस्था झल्काउनेछ।
नेपालमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं १९६८ सालबाट जनगणना लिने कार्य प्रारम्भ गरेका थिए। त्यसयता हरेक १० वर्षमा जनगणना हुने गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले जनगणना सफल बनाउन सबैलाई अपिल गर्नु भएको छ ।
अबको १५ दिन अर्थात् कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने जनगणनामा देशका सबै घरमा यसरी नै गणकहरू पुग्नेछन्। यसका लागि केन्द्रीय तथ्यांक विभागले ४० हजार गणक परिचालन गरेको जनाएको छ। गणकको कामलाई अनुगमन गर्न, वडा कार्यालयहरूमा सामुदायिक प्रश्नावली भर्नका लागि ८ हजार ५ सय जना सुपरीवेक्षक परिचालन गरिएको छ।