काठमाडौं, कार्तिक २५। आन्दोलनरत कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गर्नु भएको छ । नाराबाजीको क्रममा कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे ’ भन्दै नाराबाजी गर्नु भएको हो । उहाँहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनीविरुद्ध चर्को नाराबाजी समेत गर्नु भएको छ ।
प्रदर्शनको क्रममा नेपाल बार एसोसिएसनका पदाधिकारी र कानुन व्यवसायी र प्रहरीहरूबीच घम्साघम्सी हुदाँ ६ जना घाइते हुनु भएको छ । प्रहरीसँगको झडपमा बार महासचिव लीलामणि पौडेल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन कर्ण र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते हुनु भएको छ । उहाँहरुलाई सामान्य चोटपटक लागेको छ।
वकिलसँगको तनावपछि अहिले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी बल पनि तैनाथ गरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा उत्रिएका कानुन व्यवसायीहरुले बिहीबार दुई घण्टा सर्वोच्च उपत्यकाका सबै अदालतमा बहस बहिष्कार गर्नु भएको थियो । वकिलहरूको प्रदर्शनस्थलमा माइक राख्ने कुराले प्रहरीले वकिलहरूमाथि हस्तक्षेप गरेको थियो।